काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा लफडा बढिरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास पुगेका हुन् ।
आजको भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आफूलाई फेरि गृहमन्त्री नियुक्त गर्नुपर्ने माग गरिरहेका छन् ।
स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने आजसम्मको ‘अल्टिमेट’ दिएको छ । माघ १९ गते बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दुई दिनको ‘अल्टिमेटम’ दिएको थियो ।
यस विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो । एमाले अध्यक्ष ओली स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री दाहाल भने सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृह मन्त्री नबनाउने पक्षमा छन् ।
त्यस्तै, दाहाल र ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते तोकेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । माओवादी स्थायी समितिले बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएको छ ।