काठमाडौँ । चुनावअघिको चार दलीय गठबन्धनको बैठक फेरि साँझ ५ बजे वैठक बस्दै छ ।
बालुवाटारमा ३ घण्टाभन्दा बढी बसेको चार दलको बैठकमा पुरानो गठबन्धन ब्युँताउँदै एमाले बाहेक राष्ट्रपतिमा सहमति जुटाउने प्रयासबारे विभिन्न कोणबाट छलफल नेताहरुले जानकारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकतृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतृत्व छलफलमा जुटेका थिए ।
बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुङ्गो लगाउने दावी गरे । बिहानको बैठक राष्ट्रपतिमै केन्द्रित भएको उनले बताएका छन् । थापाका अनुसार कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ–आफ्नो प्रस्ताव राखेका छन् । उनले आकांक्षीको नामबारे भने केही खुलाएनन् । आफ्नो–आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे टुंग्याउने गरी अहिले नेताहरू उठेका हुन् ।
‘सबैले आ–आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’, गगनले भने । उनले थपे, ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आ–आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे बस्ने गरी टुंग्याउछौं ।’