काठमाडौँ । सरकार र यातायात व्यवसायीसँग पाँच बुँदे सहमति भएसँगै सोमबारबाट काठमाडौंमा यातायात व्यवसायीले शुरु गरेको आन्दोलन रोकिएको छ ।
आज (मंगलबार) बिहान सरकार र यातायात व्यवासायीसँग वार्ता भएको थियो । सम्झौताअनुसार यातायात व्यवासायीहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको उल्लेख छ । यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा समेत सहमति भएको छ ।
‘काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच गोंगबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौं महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने,काठमाडौं महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रालि,महानगरपालिका र सम्बद्ध मजदुर संघसंगठन र यातायात व्यवसायी महासंघबीच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने,’सम्झौता पत्रमा भनिएको छ ।’ यस्तै, आन्दोलनका क्रममा ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्ने पनि सहमति भएको छ । आन्दोलनका क्रममा मिति २०७९-११-१ र २ गते पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहाइ गर्ने पनि सम्झौतामा उल्लेख छ ।