म यही खर्पनमा हालेर हरदिन बेलुका
वितेको थोत्रो मैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हरदिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
हाम्रा धेरै पुस्ताहरू भएर यो खर्पन आएको छ, अथवा
यही र्खनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु
र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई ।
यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ ।
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुका पनि हो
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढौली पनि हो ।
मेरो जीवनको दियो जलाउने बाती हो खर्पन
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरूसँगको ‘जी’ ‘हजुर’ ‘तँ’ ‘तँ’ ‘म’ ‘म’ सबै सम्बन्धहरू हो खर्पन
मेरो घर, मेरो घाट, मेरो बजार, मेरो हाट जे भने पनि हुन्छ खर्पन ।
(आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको जन्म सन्दर्भमा प्रकाशित । ओलीद्वारा लिखित यो कविता डा. विजय सुब्बाको फेसबुक वालबाट लिइएको हो ।)