कांग्रेस महामन्त्री थापाको दावी : फागुन १० भित्र सत्ता गठबन्धन भत्किन्छ



रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धमा फेरबदल ल्याउने दाबी गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले आज (सोमबार) कोटिहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन गरेरै छाड्ने दावी गरे । नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवादमा रहेका थापा भन्छन्, ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’ निर्वाचन अघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँतिने उनको दाबी छ ।

फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने बताएका छन् । उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने बताए ।