कर्णाली राजमार्ग : बर्सेनि जोखिमपूर्ण यात्रा गर्दै नागरिक, स्तरोन्नतिका लागि स्रोतको खोजीमा सरकार



सुर्खेत । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयवासीले बताएका छन् ।

राजमार्गको स्तरोन्नति नहुँदा यात्रुलाई मात्र नभई सवारी चालक र गाडीधनीहरूलाई समेत उत्तिकै पिरोल्ने गरेको छ । सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको कर्णालीवासीहरूले बताएका छन् ।


सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बम बताउँछन् । “हामी वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ”, उनले भने, “कहिले धुलाम्मे, कहिले हिलाम्मे, दुर्घटनाको जोखिम पनि उस्तै छ । हामी कति दिनसम्म जोखिमको यात्रा गर्ने ?”

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्षरूपमा जोडेको छ । तर वर्षौंदेखि राज्यले सडक निर्माणमा लापरबाही गरेकै कारण कर्णालीवासीले बर्सेनि सास्ती खेप्नु परेको छ ।

सुर्खेतको वीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ ।

सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका कामहरू हुँदै आएका छन् । तर राजमार्ग सुधार हुन सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाईंले भने, “ठाउँठाउँमा हामीले स्तरोन्नतिको काम गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम त गरेका छौँ ।”

यता, सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवं प्रवक्ता शिवप्रसाद नेपालले स्रोत नहँुदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताए । “अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ”, उनले भने ।