उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित



काठमाडौँ । आज (बिहिबार) बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बस्ने सहमति भएको थियो । तर अहिलेसम्म पनि समयको टुंगो नलाग्दा बैठक अनिश्चित भएको हो ।


आजको बैठकमा राष्ट्पतिको उम्मेदवार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो । तर बैठक बस्ने नबस्ने ठेगान नभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेसँगै लामिछानेको पार्टी सरकारबाट बाहिरिएको छ । रास्वपाले पाएका मन्त्रालयको जिम्मा अन्य पार्टीका नेताहरूलाई दिने या नदिने भन्ने पनि संयन्त्रमा छलफल गर्न बाँकी छ । प्रधानमन्त्रीले जसपाका भागमा परेकासहित ५ वटा मन्त्रालय आफै मातहत राखेका छन् ।

अर्कोतिर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सत्ता साझेदार दलहरुबीच एकरूपता छैन । राष्ट्रपतिका सन्दर्भमा एमाले र माओवादीका फरक फरक विचारले गठबन्धनकै भविष्यमाथि प्रश्न उठ्न थालिसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने पक्षमा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवारबाहेक अन्यको हकमा राष्ट्रिय सहमति सम्भव नहुने बताउँदै आएका छन् । सोही विवादका कारण ओली प्रचण्ड बीच पटक पटक बालकोट र बालुवाटारमा भेटवार्ता भए पनि त्यसबारे ठोस निष्कर्ष आउन सकेको छैन ।