आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह



बारा । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन व्यवस्थापनका काममा प्रभावकारी रूपमा सहजीकरण गर्न आग्रह गरेकी छन् ।

निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गर्न मधेस प्रदेशको बारामा आज आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले मतदाता नामावली सङ्कलन एवं अद्यावधिक, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचनसम्बन्धी सूचना सहजरूपमा मतदाता एवं सरोकारवाला पक्षसँग पुर्‍याउन निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताइन् ।


उनले भनिन्, ‘मतदान केन्द्र तथा मतदानस्थललाई सुरक्षित, सहज, पहुँचयोग्य र लैङ्गिक एवं समावेशी तथा अपाङ्गतामैत्री बनाउने लगायतका काममा निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । ‘

मतदाता नामावली अद्यावधिक कार्यमा स्थानीय सरकारले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मृत्यु भइसकेका मतदाताको विवरण आयोगलाई उपलब्ध गराई मतदाता नामावली अद्यावधिक र शुद्ध बनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

आयुक्त डा तुलाधरले आयोगले स्थानीय तहसँगको समन्वय र सहकार्य गरी मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम, निर्वाचन शिक्षा तथा मतदाता जागरण काम गरी सुसूचित मतदाता तयार गर्ने काम गर्दै निर्वाचनमा धेरैभन्दा धेरै मतदाताको सहभागिता गराउँदै बदर मत प्रतिशतलाई न्यूनीकरण गर्ने लक्ष्य लिइएको बताइन् । उक्त लक्ष्य प्राप्त गर्न आयोगले निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताइन्