काठमाडौँ । अमेरिकी सहयोग नियोग युएसएडकी प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल आउने भएकी छिन् । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको युएसएडको मुख्य अधिकारीको भ्रमणले विशेष महत्व बोकेको छ ।
युएसएडले प्रकाशित गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा पावरले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रमुख प्रशासक पावरले नेपालको प्रजातान्त्रिक अभ्यास, समृद्धि, समावेशीलगायत विषयमा छलफल गर्ने जनाइएको छ ।
उनले भ्रमणका क्रममा युएसएडको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नेछिन् । नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशीता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायतका विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएडको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत मे महिनामा युएसएड र नेपाल सरकारले आगामी पाँच वर्षका लागि ६५ करोड ९० लाख डलरको अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सहयोग नेपाललाई अतिकम विकसित देशबाट मध्यमस्तरको विकासशील देशको स्तरोन्नतिका लागिसमेत खर्च गरिनेछ ।
नेपालको विकासमा युएसएडले खेलेको भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ ।