६१ दिनमा टुट्यो एमाले नेतृत्वको सात दलीय गठबन्धन



काठमाडौँ । गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन औपचारिक रूपमै टुटेको छ । 

राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहितका सत्ता गठबन्धन दलले नै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेसँगै एमाले नेतृत्वको गठबन्धन ६१ दिनमै टुट्न पुगेको हो ।


शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोसपा, एकीकृत समाजवादी, जनमत,उन्मुक्ति लगायतका पार्टीबीच राष्ट्रपतिमा कांग्रेसलाई मत दिने निर्णय भएसँगै नयाँ राजनीतिक कोर्षको सुरुवात भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् । ‘पुस १० को गठबन्धन टुटेको छ । अव नयाँ ढंगले अघि बढ्नुपर्छ’, प्रधानमन्त्री प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ । राष्ट्रिय स्वाधीनता तथा जनतालाई सेवा–सुविधा दिने कुरामा एकताबद्ध भएर जाऊँ । सत्ता समीकरणमा पनि एकताबद्ध भएर जाऊँ ।’ 

छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी थिए ।