सेनाको पेशागत दक्षता तथा कार्यकुशलता प्रशंसायोग्य : रक्षामन्त्री उप्रेती



काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आइरहेको बताएका छन् ।

उनले नेपाली सेनाको पेशागत दक्षता तथा कार्यकुशलताको प्रशंसा गरे । सैनिक जङ्गी अड्डामा आज आयोजित पृतनापति समन्वयात्मक बैठक, २०७९ को शुभारम्भका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सेनाले कोभिड-१९ महामारीलगायत विभिन्न विपद्को दौरान अग्रपङ्क्तिमा खटिइ व्यक्तिगत जोखिमको पर्वाह नगरी निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । रक्षामन्त्री उप्रेतीले बाह्य र आन्तरिक दुवै सुरक्षा खतरालाई सुक्ष्म विश्लेषण र मूल्याङ्कन गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गरे ।


निर्दिष्ट संवैधानिक दायित्व सम्पादन गर्न तथा राष्ट्रिय हितलाई सम्वर्द्धन गर्न सेनालाई समय सापेक्ष आधुनिकीकरण गर्दै लैजानुपर्ने उनले उल्लेख गरे। त्यसका लागि नेपाली सेनाको दीर्घकालीन सोच-२०८७, नेपाली सेनाको साङ्गठनिक पुनःसंरचना-२०७८, नेपाली सेनाको साङ्गठनिक पुनःसंरचना-२०७८ (परिमार्जित), राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन योजनालगायत अन्य मार्गनिर्देशक दस्तावेज बमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले समन्वय गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता थियो ।