सहमति भएको छैन, शुक्रबार एमाले र कांग्रेससँग पनि छलफल गर्छुः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारकाबारेमा सहमति जुटिनसकेको बताएका छन् ।

बिहीबार एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको छलफलपछि प्रधानमन्त्रीले छलफल चलिरहेको बताएका हुन् ।


उनले भने, ‘छलफल चलिरहेको छ । फाइनल भइसकेको छैन ।’ उनले यसबारेमा शुक्रबार फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेससँग पनि छलफल गर्ने बताए ।

चुनाव अघिको पाँच दलीय गठबन्धन ब्यूँताउने विषयमा पनि छलफल भएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ’सबैको सबैसँग छलफल भइरहेको छ ।’

बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिलगायतका उम्मेदवारका सम्बन्धमा छलफल भएको तर कुनै निर्णय नभएको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सहमति जुटिनसकेको बताए । उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायतका विषयहरूमा छलफल भयो । छलफल निरन्तर जारी छ ।’

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दलहरुबीचको छलफल तीव्र बनेको छ । बुधबार साँझ कांग्रेससँग छलफल गरेका प्रधानमन्त्रीले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए । छुट्टाछुट्टै भेटपछि माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बसेको हो ।