काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गोरखाको गोरखा नगरपालिका–३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएर जनताले तिरेको करको पैसा दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गोरखा नगरपालिका–३ जरेवरस्थित दरौदी नदीमाथि बनेको उक्त केही वर्ष पहिले नै समाजिक सञ्जालमा भाइरल भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले सडक नै नभएको नदीमाथि पुल बनाइएको भन्दै ब्यंग्य गरेका थिए ।
गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा बनेको उक्त पक्की पुलका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले रकम विनियोजन गरेको हो ।