काठमाडौँ । माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शाहीले संसद्बाट संघीय कानुन निर्माण गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, ‘सघीय ऐन निर्माणमा सदन केन्द्रित हुनुपर्ने हो तर सदन चलेको धेरै समय भइसक्यो । खाली हामी शून्य समयमा सीमित छौं, विशेष समयमा सीमित छौं । संसद् आफ्ना पार्टीका विचार राख्ने चुनावी सभाजस्तो मात्रै भएको छ ।’
संसद्ले राष्ट्रिय मुद्दा के हुन् भन्नेमा ध्यान दिनुपर्ने उनले बताए । जनताले विकास खोजेको तर त्यतातिर संसद् जान नसकेमा निराशा बढ्ने उनको भनाइ थियो । २०७४ को निर्वाचनबाट आएको प्रतिनिधिसभाले पाँच वर्षसम्म पनि संघीय कानुन निर्माण नगर्दा समस्या भएको उनले बताए । संविधान कार्यान्वयन गर्ने कानुन निर्माण गर्नका लागि सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने आग्रह गरेका थिए ।
उनले भने, ‘संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा पैदा भएको छ । स्थानीय र प्रदेश सरकारको कार्यसम्पादन निराशाजनक भएको छ । यो निराशा पैदा हुनुको कारण संविधान कार्यान्वयन नहुनु हो, संसद्मा विधेयक पेस भएका छैनन् । जुन अहिलेको आवश्यकता छ ।’
प्रदेश सरकार बनेका तर संघका प्रहरी र कर्मचारीबाट काम हुन नसकेको उनले बताए । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सांसद शाहीले प्रदेशमा गृह मन्त्रालय रहेको तर प्रहरी संघका भएका, प्रदेशमा मन्त्रालय रहेको तर सचिव संघीय सरकार मातहतका भएकाले काम हुन नसकेको उनको भनाइ थियो । अहिले प्रहरी समायोजन, संघीय निजामती लगायतका कानुन निर्माणमा प्रतिनिधिसभा लाग्नुपर्ने उनको भनाइ थियो ।