लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए संसद चल्न नदिने नाउपाको चेतावनी



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेलमा रहेका आफ्नो पार्टीका नेताहरूलाई रिहाइ नगरिए संसद चल्न नदिने चेतावनी दिएको छ । पार्टीका नेताहरूलाई रिहाइ गर्नुपर्ने नभए लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।

आज (बुधबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले रेशम चौधरीलगायत नेता–कार्यकर्तालाई रिहाइ गर्न माग गरेका हुन् । ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न भन्ने रुलिङ गर्न लगाइयो तर प्रधानमन्त्रीको कुनै धारणा आएन । हाम्रो माग सम्बन्धमा कुनै सुनुवाइ नभएमा संसद अवरुद्ध समेत गर्न बाध्य हुनेछौं,’ उनले भने ।


सरकारले सर्वोच्च अदालतको आदेश पालन नगरेको पनि सांसद चौधरीको भनाइ थियो । ‘सरकारले सर्वोच्च अदालतको आदेश मान्दैन । सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्ने आदेशको कार्यान्वयन किन गर्दैन ? अदालतको आदेश मानेर थारुहरू जेलमा बस्नुपर्ने अनि अदालतको आदेश नमान्दै राज्यले उपरखुट्टी लगाउन पाइन्छ ? आजदेखि हाम्रो आन्दोलन सदनमा पनि सुरु भयो, अब जबसम्म लाल आयोग प्रतिवेदन सार्वजनिक हुन्न तबसम्म सदन चल्न सक्दैन ।’