काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने ‘अल्टिमेटम’ आज शनिबार सकिँदैछ । यसबीचमा सत्तारुढ दलहरुबीच संयुक्त बैठक बस्न सकेको छैन ।
रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अडान कायमै छ । अस्ती (बिहीबार) बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।
आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको मुद्दा टुङ्गो नलागेसम्म धैर्यता गर्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीको अडानका कारण एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछाने असन्तुष्ट छन् ।
प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिए।
सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो।
यसपछि १५ माघमा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई ब्युँताए। यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गरे।
प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका छैनन्। जसकारण रास्वपाले गत बिहीबार दुईदिने अल्टिमेटम दिँदै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको हो। उक्त अल्टिमेटम शनिबार सकिँदै छ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहमन्त्रालय दिन अस्वीकार गरे पार्टीको बैठक बसेर सरकारमा रहने या नरहने निर्णय गरिने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।