काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा छलफल भएको हो ।
बैठकपछि नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए ।
उनले एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताए । उनले भने,‘सकेसम्म सहमतिको प्रयत्न गर्ने, त्यसपछि बाँकी रहेका काम अगाडि बढाउँछौँ । सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ । सबै पक्षसँग हामी खुला छौँ, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो ।’