राष्ट्रपतिमा आधिकारिक प्रस्ताव आएको छैन, के गर्ने पनि सोचेको छैन : अध्यक्ष नेपाल



दाङ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे आफूले अझै केही नसोचेको बताएका छन् । दाङको भालुबाङमा आज (मंगलबार) आयोजित पत्रकारसँगको छलफलमा बोल्दै उनले राष्ट्रपति बन्न आफूलाई आधिकारिक प्रस्ताव नआएको जानकारी गराएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गरकोबारे पत्रकारको जिज्ञासामा उनले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए । उनले राष्ट्रपतिका विषयमा बृहत छलफल आवश्यक रहेको भन्दै मिडियामा आएका कुरामा बोल्न हतार नगर्ने बताए ।


‘मिडियामा आएका कुरा सबै सत्य नै हुन्छन् भन्ने कुरा भएन । राष्ट्रपतिमा चाहाना राख्नु फरक कुरा हो, तर यसबारे सोचिसकेको छैन । अहिलेलाई पर्दाभित्रै राखेका छौं,’ उनले भने । ‘पावर सेयरिङ’मा आफूहरूले भूमिका पाउनुपर्ने भन्दै उनले अरूका लागि ‘बलिदान’ गर्न नसक्ने समेत बताए ।

‘चाहना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले के गर्ने भनेर सोचेको छैन । हाम्रो पार्टीको धारणा के छ भने, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरि अरूको निम्ति बलिदान हुने र अरूलाई फाइदा हुन हुन सक्दैन,’ उनले भने ।