राज्यकोष दुरुपयोगलाई अनुसन्धानको दायरामा ल्याइनेछ : प्रमुख आयुक्त



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने बताएका छन् । आयोगको ३२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले पूर्वाधार निर्माण बर्सेनी ठूलो रकम खर्च भए पनि आवश्यक गुणस्तर कायम हुन नसकेको र तिनको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरुपयोग बढेको बताए । उनले विकासका पूर्वाधारको निर्माणमा स्रोतको दुरुपयोग बढेको उल्लेख गरे ।

पूर्वाधार निर्माणमा आवश्यकताको पहिचान नगरी अध्ययन, खरिद र ढिलासुस्ती गर्दा स्रोतको दुरुपयोग बढेको जिकिर गर्दै प्रमुख आयुक्त राईले भने–‘राज्यकोषको दुरुपयोग र दोहन बढेको छ । तीनै तहका सरकारबाट स्रोतको सुनिश्तिता र पर्याप्त पूर्वतयारी विना ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना अधेरै छन् । यस्ता कार्यमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।’


विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, सम्भाव्यता अध्ययन वा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तर कार्यान्वयन नगर्ने पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइने उनले बताए । पूर्वाधार निर्माणका लागि यन्त्र उपकरण खरिद गर्ने तर उपयोग नगर्ने र वर्षौं वर्षसम्म अधुरै रहेका आयोजनामा संलग्न पदाधिकारीमाथि पनि अनुसन्धन अघि बढाइने उनले बताएका छन् । ‘सरकारी स्रातको हानिनोक्सानी तथा दुरुपयोगसम्बन्धी उजुरी बढेको छ । जलविद्युत्, उद्योग तथा वस्तु र सेवाको उत्पादन र परिवहनमा अनुमतिपत्रसम्बन्धी व्यवस्थामा एकाधिकार र कार्टेलिङबारे आयोगले निगरानी र छानबिन कगरिरहेको छ,’ उनले भने ।

प्रमुख आयुक्त राईले प्राकृतिक स्रोत, खासगरी ढुङ्गा, गिट्टी र बालुवा जथाभावीरुपमा उत्खनन र दोहन गर्ने कार्य नियन्त्रण गर्न जरुरी रहेको बताए ।