नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन् । सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए । उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ ।
“देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ”, उनले भने, “देश विकासको लागि लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ । त्यसको नेतृत्व कांग्रेसले गर्नेछ ।”
जनता र देशको हित विपरित कार्य सरकारले गरेमा कांग्रेसले खबरदारी गर्ने उनको भनाइ छ । “कम्युनिष्ट पार्टी र उनीहरूले नेतृत्व गरेको सरकार प्रचारवाजी धेरै गर्ने र काम कम गर्ने प्रवृत्तिको छ । त्यस्ता प्रवृत्तिको हामी सधैँ खबरदारी गर्नेछौँ”, उनले भने ।