युवा पुस्तामा हराउँदै मातृभाषा



चितवन । सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको छ ।

मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको बेवास्ता, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकार बताउँछन् । नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउँछन् । चितवन र तनहुँमा रहेका दराईहरुले मातृ भाषा बढी मात्रामा बोलिने भएपनि अन्य जिल्लामा ज्यादै न्यून हुँदै गएको उनले बताए ।


नेपालका १६ जिल्लामा १६ हजार सात सय ८९ जनसङ्ख्या रहेको दराईका बालबालिकामा भने भाषाको ज्ञान ज्यादै न्यून रहेको उनको भनाइ छ । जीवन र जाति संरक्षणमा महत्वपूर्ण हुने मातृ भाषा हराउँदै जानुले भविष्यमा लोप हुने जोखिम रहेको उनको चिन्ता छ । सरकारले संस्थागत रुपमा अभियान सञ्चालन गरेर मातृभाषा संरक्षणमा काम गर्नुपर्ने उनको सुझाव छ । उनले भने “भाषा संरक्षणका लागि सङ्ग्रहालय जस्ता संरचना निर्माण गरेर काम गर्नुपर्छ । सञ्चारमाध्यमले पनि दराई भाषालाई स्थान दिनुपर्छ ।”

थारु कल्याणकारी सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी पछिल्लो समय युवा पुस्तामा आफ्नो मातृभाषाको ज्ञान हुनुपर्छ भन्ने भावना जाग्दै गएको बताउछन् । बीचको समयमा युवा पुस्तामा हराउँदै गएको भाषालाई पुनः जागृत गराउने कार्य भइरहेको उनि बताउँछन् ।

उनले भने “मातृभाषाको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्दैछौँ ।” देशैभर बोल्ने थारु भाषालाई एउटै मानक भाषा बनाउने काममा कल्याणकारीसभा लागेको उनि बताउँछन् । सरकारले समयमै भाषा संरक्षणमा काम गर्नुपर्ने उनको सुझाव छ । सभाले देशभर झण्डै ४० लाख थारु जाति रहेको जनाउँदै आएको छ भने सरकारी तथ्याङ्क १७ लाख मात्रै रहेको उनि बताउछन् । झापादेखि कञ्चनपुरसम्मका तराई र भित्री मदेशमा थारु जातिको बसोबास छ ।

नेपालका चेपाङ युवा पुस्तामा पनि मातृभाषाको समस्या छ । चेपाङ सङ्घको शिक्षा विभाग हेर्दै आएका तिलकबहादुर चेपाङ ६८ प्रतिशतले मातृभाषा बोल्ने बताउँछन् । भाषाको एकरुपताका लागि तालिम दिने कार्य भइरहेको उनको भनाइ छ ।

चेपाङ सङ्घले सबैतिरका चेपाङले बोल्ने भाषालाई संयोजन गरेर शब्दकोषसमेत प्रकाशित गरेको छ । उनको भनाइमा सहरीकरणसँगै युवा पुस्तामा भाषा कमजोर बन्दै गएको छ । यस्तै अवस्था रहेमा चेपाङ भाषा लोप हुने भन्दै उनले भने “सरकारले भाषा संरक्षणमा ध्यान दिएको देखिँदैन ।”

चितवन, मकवानपुर र गोरखाका तीन विद्यालयमा चेपाङको मातृभाषामा पढाइ हुँदै आएको छ । चेपाङका शिक्षित युवाले शिक्षक अनुमतिपत्र पाउन नसक्दा भाषा शिक्षकको अभाव भएको उनको गुनासो छ ।

नेपालमा ७९ हजार चेपाङ समुदाय रहेको तथ्याङ्क छ । जसको ३६.१ प्रतिशत मात्रै साक्षर रहेको उनले बताए । नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटे ५० प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको बताउँछन् । उनले भने “भाषा र संस्कृति हराइसक्यो, जगेर्नाका लागि सुरुवात गरेका छौँ ।” युवा पुस्तामा मातृभाषा बोल्ने न्यून हुँदै गएको भन्दै उनले समयमै संरक्षण गर्न नसके लोप हुने चिन्ता व्यक्त गरे । जनसङ्ख्या कम र छरिएर रहेकाले मातृभाषाको प्रयोग कम हुँदै जाँदा संरक्षणमा कठिनाइ भएको उनको भनाइ छ । उनको भनाइमा नौ जिल्लामा एघार हजार नौ सय जनसङ्ख्या रहेको छ ।

नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय अध्यक्ष विशाल कुमाल १२ प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको बताउँछन् । नेपालमा ७५ जिल्लामा एक लाख २१ हजार एक सय ९६ जनसङ्ख्या रहेको जानकारी दिँदै उहाँले गाउँघरमा बुढाबुढीले मातृभाषा बोल्ने गरेको बताए ।

उनले भने,“बालबालिका अन्य जातिको जस्तो गरी मातृभाषा बोल्दैनन् ।” आफूहरुले राज्यसँग सहकार्य गरेर भाषा संस्कृति संरक्षणका लागि काम गरिरहेको उनको भनाइ छ । पाठ्यक्रम विकास केन्द्रले २८ वटा मातृभाषाको पाठ्यक्रम तयार गरेको छ । केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याल अन्य भाषाको पनि पाठ्यक्रम बन्ने क्रममा रहेको बताउछन् ।

थारु, मैथली, भोजपुरी, अवधि, शेर्पा, मगर, नेवारी जस्ता भाषाको पाठ्यक्रम बनेर प्रयोग राम्रो भए पनि अन्य भाषाको पाठ्ययक्रम बनेको तर प्रयोगमा कम आएको उनले बताए ।