बन्द अस्पताल खोल्न माग गर्दै वीर अस्पताल अगाडि बिरामीले गरे प्रदर्शन



काठमाडौँ । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पताल पुगेका बिरामी अलपत्र परेका छन् । संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

आज बिहान उपचारका लागि वीर अस्पतालमा पुगेका धेरै बिरामीहरु अलमलमा परेपछि बिरामी तथा उनीहरुका आफन्तले प्रदर्शन गरेका छन् ।


उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले बीर अस्पताल अगाडीको सडकमा केहिबेर प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । अहिले भने प्रहरीले उनीहरुलाई हटाएको छ ।

सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् । यता आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न संसद भवन जाने क्रममा बीर अस्पतालका एक डाक्टर प्रहरीबाट कुटिएका थिए । डाक्टर कुटिएपछि आक्रोशित बनेका चिकित्सकहरुले आज देशभर ओपीडी सेवा बन्दको आह्वान गरेका छन् ।