बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् ।
गाउँपालिकाले पहिलो चरणको रु ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्नसकेको छैन । गत असारमा सम्पन्न दशौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । पाँच हजार चार सय घरधुरीका लागि निःशुल्क बीमा गर्न राजस्व बाडफाँडबाट रु दुई करोड बजेट विनियोजन गरेको थियोे । स्वास्थ्य बीमाको लागि पालिकाले पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको विवरण सङ्कलन गरिसकेको छ । विवरण सङ्कलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।
सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन् । प्रदेश र सङ्घबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । “प्रदेश र सङ्घीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गछौँ” चन्दले भने ।
पञ्चकोटमा विराट महायज्ञ
बागलुङ नगरपालिका–६ स्थित सर्वशिद्धिधाम पञ्चकोटमा मङ्गलबारदेखि विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विराट महायज्ञ सुरु भएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि रोकिएको महायज्ञ यसपटक सञ्चालन गरिएको हो ।
महायज्ञको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले धार्मिक गतिविधिमार्फत् पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताए । पञ्चकोटसँगै नगरक्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सदैव नगरपालिकाको साथ रहने बताउँदै उनले भने,–“समृद्धि र विकासमा सबै एकजुट हुनुपर्छ ।”
सो अवसरमा बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्री, वडा नंं ६ का पूर्ववडाध्यक्ष खिमराज सापकोटा र पञ्चकोट विकास समितिका पूर्वप्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्मालगायतले बोले । महायज्ञ यही फागुन १५ गते सम्पन्न हुने पञ्चकोट विकास समितिले जनाएको छ ।
महायज्ञको हरेक दिन बिहान ६ बजे महायज्ञस्थलमा पुजन प्रारम्भ, दिउँसो १२ बजेदेखि १ बजेसम्म हरिनाम सस्कृतन, १.३० बजेदेखि विशेषकथा प्रवचन र साँझ ६ बजेटबाट विष्णु सहस्रनाम पाठ हुने समितिका अध्यक्ष केशवबहादुर कार्कीले जानकारी दिए ।