विराटनगर । नेकपा एमाले प्रदेश–१ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
हिजो (शुक्रबार) बसेको एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकाल्न केन्द्रलाई सिफारिस गरेको हो ।
एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’ को उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए । कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए । त्यसयता प्रसाईं विवादमा तानिएका छन् ।
दुर्गा प्रसाई पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीसहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको एमाले प्रदेश–१ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले बताए । उनले एमालेमा बसेर राजतन्त्रको वकालत गर्न कसैलाई छुट नभएको बताएका छन् । त्यसैगरी बैठकले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ ।
एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको हो । बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए । स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी बनेहरूलाई पार्टीबाट निष्कासन गरिएको पाठकले बताए ।