काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले विशेषतः औद्योगिक क्षेत्रको विकासमा सरकार अगाडि बढेको र केही रुग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गरिने बताए ।
अझै थुप्रै औद्योगिक क्षेत्रका सम्भावना, त्यसका सम्भाव्यताबारे पहिचान गरेर आगामी आर्थिक वर्षमा सुदूरपश्चिमवासीले औद्योगिक क्षेत्रको विकासमा केही नयाँ उपलब्धि पाउने मन्त्री भण्डारीले जानकारी गराए । उनले छिटोछरितो राज्यबाट हुने सेवा प्रवाहलाई कार्यान्वयन गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने, “सुशासनको नीति सरकारले प्रदान गर्नेछ ।”
कुन ठाउँमा कुन वस्तुको सम्भाव्यता छ भनेर सम्पूर्ण अध्ययन पूरा गर्ने गरी मातहतका निकायलाई निर्देशन दिइसकिएको मन्त्री भण्डारीले जानकारी दिए । उनले भने, “आज पनि दार्चुलामा कपर खानी छ, सिसा खानी छ, बैतडीमा फलाम खानी छ, र अन्य जिल्लामा पनि थुप्रै सम्भावना छन्, यी कुरालाई पनि हामी प्राथमिकतामा राख्छौँ ।”
उनले वर्तमान सरकार कञ्चनपुरस्थित दोधाराचाँदनीको सुक्खा बन्दरगाहलाई चाँडै कार्यान्वयनमा ल्याउने कुरामा वचनबद्धता व्यक्त गरे । आगामी फागुन १ गते प्रधानमन्त्रीको उपस्थितिमा सुक्खा बन्दरगाहको अवलोकन गर्ने र त्यसलाई नेपाल–भारत सरकारबीचको समझादारीमा निर्माण कार्यलाई चाँडै प्रारम्भ गरिने उनको भनाइ छ ।