काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबिच भेटघाट भएको छ । दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता सके पछि विदेश सचिव कांग्रेस सभापति देउवालाई भेट्न पुगेका हुन । यसपछि विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
दुई दिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान काठमाडौँ आएका हुन् । उनी भारतीय वायुसेवाको जहाजमा आएका थिए ।
क्वात्रासँगै भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने डिभिजनका सहसचिव अनुराग श्रीवास्वसहितका अधिकारी पनि आएका छन् ।