काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा सहभागी क्लवले अब पाँच जनासम्म विदेशी खेलाडीलाई आवद्ध गर्न पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फा र शहिद स्मारक ए डिभिजनका क्लवबीच पाँच जना विदेशी खेलाडी राख्ने विषयमा सहमति भएको हो । यसअघि क्लवहरुले चार जना विदेशी खेलाडी राख्न पाउने थिए ।
नेपाली खेलाडीहरु विदेश पलायन भएका कारणले खेलाडीको कमी भएका कारणले क्लवहरुले विदेशी खेलाडीको कोटा बढाउनका लागि एन्फासँग आग्रह गरेका थिए ।
माघ महिनामा मात्रै नेपाली राष्ट्रिय टोलीमा रहेका दर्जन बढी खेलाडी उज्जवल भविश्य खोज्दै विदेश गएका छन् ।
यसअघिका लिगमा क्लवले चार जना विदेशी खेलाडीलाई आवद्ध गर्दा तीन खेलाडीलाई पहिलो रोजाईमा मैदानमा राख्न पाउनेमा अब चार खेलाडीले पहिलो रोजाईमा मैदानमा उतार्न पाउनेछ ।
त्यस्तै पाँच विदेशी खेलाडीको कोटामा एक एशियाली र एक दक्षिण एशियाली खेलाडी अनिवार्य गरेको छ । यसपालीको लिग यही फाल्गुन १९ गतेबाट सुरुहुने छ ।
एन्फाले पाँच चरणसम्मको तालिका सार्वजनिक गरेको छ । डबल राउन्ड रोबिनमा हुने लिग च्यासल मैदान, एन्फा कम्पेलेक्स सातदोबाटो र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।