काठमाडौँ । नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय महाधिवेशन आज (मंगलबार) देखि सुरु हुँदैछ ।
काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने २३औं महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार : गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको उनले जानकारी दिइन् । महाधिवेशनमा देशभरका करिब १५ सय ७३ प्रतिनिधि सहभागी हुने छन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनले अबका दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने बरालले बताइन् । नेतृत्व चयन सहमतिमा नभए निर्वाचनका लागि विद्युतीय मेसिनको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।