साइबर आक्रमणको प्रयास : सबै सरकारी वेबसाइट डाउन



काठमाडौँ । शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार सर्भरमा ह्याकरको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएका छन् । अहिले समाधान गर्ने गरी काम भइरहेको उनले बताएका छन् ।


सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् ।

‘जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट खोल्दा ‘This site can’t be reached’ देखाउँछ । यसबारे प्रधानमन्त्री कार्यलयमा बुझ्दा यो समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीको प्राविधिक टोलीले यसबारे काम गरिरहेको छ । प्राविधिक कारणले केही समय डाउन भएको छ । यो बन्दैछ । चाँडै सुचारु हुन्छ,’ प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।

त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सर्भरमा समस्या आउँदा सबै सरकारी कार्यालयका वेबसाइट डाउन भएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘सबै कार्यालयका वेबसाइट डाउन भइरहेको छ । यसलाई छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । छिट्टै बन्छ ।’ तर, के कारणले वेबसाइट डाउन भएको भन्नेबारे भने आर्यालले जानकारी दिएनन् ।

324045280_626339066163672_6395844882443363924_n
324573831_1030983371626071_261574064905103610_n
326980842_562719959076515_8796622478957402970_n
327166585_925598912143648_8357794717569113244_n