काठमाडौँ । नेपाली कांग्रेसले अहिलेको सत्ता गठबन्धनको आयु छोटो भएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धन अवसरवादी भएकाले यसको आयु लामो नभएको बताएका हुन् ।
प्रवक्ता महतले भने– ‘वर्तमान सत्ता गठबन्धनको आयु छैन । किनकी, यो सत्ता गठबन्धन नितान्त सत्ताका लागि मात्र बनेको छ । यहाँ विभिन्न विचारहरू एक ठाउँमा आएका छन् । यस्तो गठबन्धन स्वभाविक हुँदैन । त्यसैले लामो समय टिक्दैन । गठबन्धन आवद्ध दलहरूबीच नै विरोधाभास छ । त्यसैले, यो गठबन्धनको आयु छैन ।’
उनले गठबन्धन राजावादी, संघीयता विरोधी र संविधान विरोधी मिलेर बनेकाले यो त्यति लामो समयसम्म जान नसक्ने बताए । उनले भने, ‘यो गठबन्धन राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर बनेको छ । त्यसैले आयु छोटिने सम्भवाना देखेका छौं ।’
उनले आफूहरु निर्वाचनअघिको कांग्रेस–माओवादी गठबन्धन कायम रहनेमा विश्वस्त रहेपनि प्रचण्ड र माधव नेपालले धोका दिएको आरोप लगाए । उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
उनले यसबाट कांग्रेस विचलित नभएको बताए । उनले आगामी दिनमा पार्टी संगठन बिस्तार, पार्टीमा एकता, व्यक्तिकेन्द्रित नभइ विषय, लक्ष्य केन्द्रित भएर काम गर्नेमा लाग्ने पनि बताए ।
उनले पार्टी सभापति शेरबहादुर देउवाको बिरोध गर्नेहरुले नै काँग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि काँग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने बताए ।