श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको छ । स्वास्थ्यमन्त्री केहेलिया राम्बुकवेलाले श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि कदम चालिएको बताएका हुन् ।
बिहीबार संसद्लाई सम्बोधन गर्दै रामबुकवेलाले भने, “सन् २०२१ र २०२२ मा कुपोषणको आँकडामा वृद्धि भएको र यस्तो अवस्था आउनुको एउटा प्रमुख कारण केही खाद्य वस्तुको अनैतिक प्रचार हुनसक्ने देखिएको छ ।”
मुलुकको आर्थिक सङ्कटका बेला बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण पनि बालबालिकामा कुपोषण बढेको उनको भनाइ थियो ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को हालैको एक प्रतिवेदनअनुसार श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको बीचमा रहेको छ जुन सन् २०२३ भर जारी रहने अनुमान गरिएको छ । यस वर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।