रसुवा । दक्षिण पश्चिम रसुवास्थित डाँडागाउँको नयाँ बस्तीमा शुद्ध खानेपानी व्यवस्थापनका लागि छुट्टै योजना सञ्चालन गरिएको छ । विसं २०७२ को भूकम्पले विस्थापित भई पुनर्वास गरेका ४० घर परिवारलाई केन्द्रित गरी खानेपानीको व्यवस्था मिलाइएको र भाँगेखोलादेखि अल्छीबिसौनासम्मको खानेपानी निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले ३० लाख अनुदान प्रदान गरेको हो ।
भूकम्पको असरले आफ्नो पुरानास्थान छोड्न बाध्य भएका साविक डाँडागाउँ गाविसका बासिन्दा हाल उत्तरगया गाउँपालिका–२ अल्छीबिसौनामा बसोबास गर्दै आएका छन् । उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीका अनुसार डाँडागाउँका बासिन्दाको हितका लागि चालु आर्थिक वर्षमा सञ्चालन गरिने विकास निर्माणका काम धमाधम अगाडि बढिरहेको छ ।
सिन्दूरे ढुंगा मुहान गरी भुमेस्थान हुँदै डाँडागाउँ तथा सिम्ले गाउँक्षेत्रमा शुद्ध खानेपानीको व्यवस्थापन मिलाउन प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माणको प्रक्रिया अगाडि बढेको छ । भागेखोला मुहानबाट ल्याइने पानीले सिम्लेका एक सय ५० घर परिवार र सिदुरे ढुंगाबाट ल्याइने पानीले डाँडागाउँ क्षेत्रका करिब तीन सय घर परिवारलाई शुद्ध खानेपानीको व्यवस्था मिलाउने लक्ष राखिएको छ ।
यी दुईमध्ये सिम्लेको योजना यसै वर्ष र सिन्दूरे ढुंगा डाँडागाउँको खानेपानी भने कम्रागतरूपले आगामी वर्ष सम्पन्न हुने बताइएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई खानेपानी निर्माणको व्यवस्थापन गर्न आवश्यक बजेट भने प्रदेश सरकारले व्यवस्थापन गरिसकेको वडा कार्यालयले जनाएको छ ।
दूरदराजका गाउँको विकासमा प्रदेश सरकारले थोरै सहयोग गरे पनि ग्रामीण बासिन्दाका लागि भने ठूलो राहत मिलेको स्थानीयले बताएका छन् । यसैगरी एकआपसी गाउँ घरमा हिँड्न सहजताको लागि सिँढी बाटो निर्माण, भाँगे गाउँमा सिँचाइ मर्मत तथा वधशाला र खेल मैदान, सिम्लेस्थित त्रिशूली नदीमा मरणपाटी निर्माणसमेतका कार्य सुरू गरिसकिएको छ ।
यसै आवमा सम्पन्न गर्ने लक्ष्यसाथ वडा कार्यालयको बजेटबाट सुरूवात भएको सिँढी तथा मरणपाटीलगायतका काम सम्पन्न गर्न २० लाख खर्च हुने वडाध्यक्ष सुवेदीले जानकारी दिए ।