शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र



तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो ।

आर्थिक वर्ष २०७८-७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष घनकुमारी आलेले बताइन् ।


कुल रु ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट रु ४९ लाख र स्थानीय उपभोक्ताबाट रु २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन् । मोटरमार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको अध्यक्ष आलेले बताइन् । ‘सडक कालोपत्र नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याबाट स्थानीयवासी पीडित थिए, सडक कालोपत्र भएपछि स्थानीयवासीलाई राहत महसुस भयो’, उनले भनिन् ।

अवरुद्ध कृष्णमार्ग सञ्चालन हुने

तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्ग सञ्चालन हुने भएको छ । विगत एक महिनादेखि अवरुद्ध रहेको उक्त मोटरमार्ग पुस २८ गतेदेखि सञ्चालन हुन लागेको हो । कृष्ण मोटरमार्गअन्तर्गत खिलाबाट पोखरीछापसम्मको बाटो कालोपत्रका लागि उक्त मार्ग अवरुद्ध भएको छ । मोटरमार्ग अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ ।

गाउँपालिकामा बसेको सर्वदलीय बैठकले २८ गतेदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाअन्तर्गतका सबै राजनीतिक दलका प्रतिनिधि तथा यातायात व्यवसायीबीच भएको छलफलपछि मोटरमार्ग सञ्चालन गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । पुस २७ गतेसम्म सडक कालोपत्रका काम सम्पन्न हुने भएको छ ।

आर्थिक सहयोग

उपचारका लागि आर्थिक अभावमा समस्यामा परेकी तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी मिनमाया थापालाई गाउँपालिकाले आर्थिक सहयोग गर्नुका साथै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । आर्थिक अभावमा उपचारमा कठिनाइ नहोस् भन्नका लागि गाउँपालिकाले बनाएको कार्यविधिअनुसार उनलाई उपचार खर्च प्रदान गरिनुका साथै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको हो ।

हेमोडायलासिसका साथै अन्य उपचार गर्नका लागि आर्थिक अभावमा छटपटाइरहेकी ती महिलालाई गाउँपालिकाले रु ५० हजार र अध्यक्ष शुक्र चुमानले व्यक्तिगतरूपमा रु १० हजार सहयोग गरेका छन् । यसका साथै गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवामार्फत उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याएको गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोद साहले जानकारी दिए । ‘हिजो राति ८ बजे उहाँलाई लिएर अस्पतालमा भर्ना गराएर उपचार गरायाँै, उहाँको स्वास्थ्य अवस्था राम्रो भएको छ’, उनले भने ।

आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि गाउँपालिकाले विपन्नलाई सहयोग गर्दै आएको छ । ‘पैसा नभएर रोग लुकाउन बाध्य हुने, पैसा नभएर उपचार गर्नबाट बञ्चित हुनेलाई लक्षित गरी गाउँपालिकाले आर्थिक सहायता दिने नीति लिएको छ’, अध्यक्ष चुमानले भने ।