शनिबार मात्रै काठमार्डौ आएका एलेक्जेण्डर धर्म छोरा भेटन् जाँदै थिए पोखरा



काठमाडौँ । पोखरा–२६ सुन्दरीबजारका सुजन अधिकारी आज बिहानैदेखि निकै खुसी थिए । फ्रान्सबाट सुजनका धर्मबुबा पास्कल एलेक्जेण्डर आइतबार पोखरा आउँदै थिए।

नेपालमा सुजनलाई धर्मछोरा बनाएका एलेक्जेण्डर छोरा भेट्न आतुर थिए भने सुजन पनि धर्मबुबालाई भेट्न हतारिएका थिए । बिहानै जहाज चढ्ने बेलामा अबको १८ मिनेटमा पोखरा झर्छु भनेर म्यासेज छोडेका एलेक्जेण्डर सेती खोचमा बिलिन भए।


यता, सुजन बुबा लिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगे भए पनि जहाज दुर्घटनाको खबरले विक्षिप्त हुँदै दुर्घटनास्थलतर्फ लागेका थिए । सेती खोँचबाट धुवाँको मुस्लो निस्कँदा नै उनको होसहवास उडेको थियो । पछि शवको सनाखत भएपछि उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्ष प्राङ्गणमा झनै पीडामा छन ।

उनीहरूको चिनजान भएको धेरै भएको छैन । एलेक्जेण्डर नेपाल आएको बेला बाटो बताउँदा भएको चिनजान धर्मबुबासम्म पुगेको सुजनले बताए । चिनजान भएदेखि नै आफ्नो हरेक सुखदुःखमा साथ दिने धर्मबुबा गुमाउनुपर्दा असह्य भएको उनले सुनाए । “हाम्रो चिनजान भएको धेरै भएको छैन । दुई वर्षअघि बाटो चिनाउँदा भेट भएको हो । त्यो बेला कुराकानी भएपछि उहाँले मलाई सहयोग गर्न थाल्नुभयो”, सुजनले भने, “मेरो आफ्नै बुबा सानैदेखि म र ममीबाट टाढा हुनुहुन्थ्यो । त्यो कारण पनि उहाँलाई भेटेपछि मैले धर्मबुबा मानेको थिएँ ।”

शनिबार मात्रै काठमाडौँ झरेर आफूलाई भेट्नकै लागि पोखरा आएको सुजनले बताए । “उहाँ मलेसिया हुनुहुन्थ्यो शनिबार नेपाल आएपछि मलाई भेट्न पोखरा आउनुभएको थियो”, उनले भने , “मसँग हरेक क्षण म्यासेजमा बोल्नुहुन्थ्यो । अन्तिम पटक जहाज चढ्ने बेला बोल्नुभएको थियो । उहाँले छिट्टै भेट हुन्छ यो पटक मिठाइ ल्याउन पाइन पनि भन्नुभएको थियो ।”

धर्मबुबा एलेक्जेण्डरको जहाज दुर्घटनामा निधन भएसँगै आफ्नो जिन्दगीले फरक रूप लिने उनले बताए ।