काठमाडौँ । जनता समाजवादी पार्टीले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजानेबारे निर्णय गर्ने भएको छ ।
मंगलबार बसेको पार्टीको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा सरकारको नीति तथा कार्यक्रम र शक्ति बाँडफाँटको आधारमा टुंगो लगाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
प्रवक्ता सुमनले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र निर्णय लिइने बताए । त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिको सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् । बैठकले माघ मसान्तभित्र पार्टीमा निष्क्रिय भएका सबै संगठनहरुलाई क्रियाशील गराउने निर्णय पनि गरेको छ ।
गत निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रीय समिति सदस्यहरुले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन् । जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ ।
समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी सदस्य छन् ।