विमान दुर्घटनामा दम्पत्तिको मृत्यु भएपछि हेमजा शोकमा डुब्यो



गण्डकी । पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्को तर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।

अमेरिकाबाट शनिबार काठमाडौँ आइपुगेका सापकोटालाई लिन श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । जना पोखरा विमानस्थल झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा परे ।


सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस भइन् । छरछिमेक सबैका आँखा रसाएको छ ।

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका पुगेका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गत वर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका हुन् ।

उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका थिए ।

‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् ।

सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा परेका छन् ।

घरायसी कामकाजको सिलसिलामा काठमाडौँ पुगेका कुँवर दम्पत्तिले छोराछोरीलाई शनिबार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार–चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।