विमान दुर्घटनापछि उद्धारका लागि २२७ सशस्त्र प्रहरी परिचालन



काठमाडौँ । सशस्त्र प्रहरी बलले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सय २७ सशस्त्र प्रहरी परिचालन गरेको छ ।

आज बिहान काठमाडौँबाट पोखरातर्फ उडेको नाइन एन एएनसी एटिआर ७२ विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यमा लागि दुई सय २७ प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।


उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विजय केसीको कमान्डमा एक सय ४०, सशस्त्र प्रहरी बल नेपाल हूल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनबाट सशस्त्र प्रहरी निरीक्षक राजेशकुमार सिंहको कमान्डमा ६२ र कुरिनटार गोताखोरबाट १५ जनाको टोली परिचालन गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अन्य सङ्घसंस्था र निकायको समन्वयमा उद्धार कार्य भइरहेको प्रवक्ता थापाले बताए । विमान अप्ठेरो खाँेचमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको उनको भनाइ छ ।