काठमाडाैँ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
“एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, उनले भने, “विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।”
सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगसदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन् ।
साथै हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।
विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ । उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइने छ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइनेछ ।