विद्युतीय चुलो जडानका लागि इन्द्रावतीले माग्यो प्राधिकरणसँग सहयोग



सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि बढाएको छ । ‘हाम्रो लगानी हाम्रै सम्पत्ति’ भन्ने नाराका साथ गाउँपालिकाले सो योजना अघि सारेको हो ।

आज इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष आवश्यक सहयोगको लागि मागपत्र बुझाएका छन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, गाउँपालिकाका अध्यक्ष नेपालसहितको टोलीले मागपत्र बुझाएको हो ।


आगामी आवभित्र पालिकाभित्रका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष नेपालले जानकारी दिए । उनले जनताका आवश्यक दैनिकीलाई मध्यनजर गर्दै जनताका मागलाई सम्बोधन गर्दै अघि बढ्ने बताए । उनले गाउँपालिकालाई दाउरा र ग्यास चुलोरहित बनाउन सो अवधारणालाई अघि बढाइएको बताए ।

मागपत्रलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सो कार्यक्रम सञ्चालनका लागि आवश्यक ट्रन्सफर्मर, प्लास्टिक, कोटेड, तारलगायत आवश्यक सहयोगको लागि प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष नेपालले जानकारी दिए ।