काठमाडौँ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।
अब निर्वाचन आयोगले सरकारसँगको छलफलपछि कानुनबमोजिम उपनिर्वाचन घोषणा गर्नेछ । चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी सांसद हुन योग्य नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै रवि गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिबाट पदमुक्त भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर छोटो समयमै निर्वाचन लडेका लामिछानेले चितवन–२ मा नेपाली कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।