तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाबीच पशु बीमासम्बन्धी सम्झौता गरिएको छ। रेसुङ्गा नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाअन्तर्गत सबै वडामा रहेका पशुहरूको बीमा सम्झौता गरिएको हो ।
रेसुङ्गा नगरपालिकामा रहेका गाई, भैँसी, बाख्रा भेडाहरूको पशु बीमा गरिएको हो । सम्झौताअनुसार प्रति गाई भैंसी बीमाका लागि रेसुङ्गा नगरपालिकाले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने छ । बाँकी रकम किसान स्वयंले उठाउनुपर्ने सम्झौतामा उल्लेख छ ।
विभिन्न रोग तथा दैवी प्रकोपवाट पशु चौपायाको क्षति हुँदै आएको अवस्थामा कृषकको सहजताका लागि नगरपालिकाले पशु बीमा कार्यक्रम ल्याएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेड गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपाने र रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल तथा पशु शाखा प्रमुख रुमाखर मरासिनीले हस्ताक्षर गरेका छन् । नगरपालिकाले सुरु गरेको पशु बिमा कार्यक्रमबाट किसानलाई पनि ठूलो राहत पुग्ने बताइएको छ ।