गलकोट । बागलुङको काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत बागलुङको काठेखोला गाँउपालिकामा एकासाथ दुई मोटरेवल पुल निर्माण गरिएको हो ।
गाउँपालिका–६ बिँहु र भिमापोखरा जोड्ने गरी लामाबगरमा र वडा नं ७ रेशको सिमानामा रहेको एक्लेखेतस्थित रेश खोलामा मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि रेश र धम्जामा अब बाह्रैमास यातयातका साधन चल्ने भएको छ ।
बागलुङको काठेखोला गाउँपालिकाको रेशमा बर्खा लागेपछि सवारीसाधन खोलापार गर्न नसक्ने समस्या रेश खोलामा पुल निर्माण भएपछि हटेको काठेखोला गाउँपालिका-७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । रेश खोलाको पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले पाँच करोड २७ लाख बजेट विनियोजन गरेको थियो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल निर्माण भएको हो ।
त्यसैगरी रू पाँच करोड लागतमा पुल निर्माणको ठेक्का निलगिरि नेशनल जेभिले जिम्मा लिएको थियो । विसं २०७६ सालमा ठेक्का सम्झौता भएको पुल २०७९ माघ मसान्तसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।
पुलको अहिले रङ्गरोगनको काम चलिरहेको छ । यस्तै लामाबगरमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । तीन करोड ३१ लाख लागतमा पुलको निर्माणको जिम्मा पनि निलगिरि नेशनल जेभीले लिएको थियो ।
विसं २०७७ माघमा सकिने गरी २०७६ साउन २६ गते ठेक्का सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताभन्दा दुई वर्षपछि मात्रै सम्पन्न भएको हो । लामाबगर पुल र रेश खोलाको पुल दुबै हस्तान्तरणको चरणमा पुगेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले जानकारी दिए ।