महिलालाई काममा बन्देज गर्ने निर्णय पुनर्विचार गर्न तालिबानलाई ओआईसीको आग्रह



इस्लामिक मुलुकहरुको अन्तर्राष्ट्रिय संस्था इस्लामिक सहयोग संगठन ओआईसीले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानलाई गैर सरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाउने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

ओआईसीले महिलालाई गैर सरकारी संस्था र विद्यालयबाट बञ्चित गर्नु ‘अल्लाहका दूत र इस्लामिक कानूनको भावनाविपरीत’ रहेको भन्दै निर्णय पुनर्विचार गर्न तालिबानसमक्ष आग्रह गरेको हो ।


यसबाहेक ओआईसीले अफगानिस्तानमा मानवीय अवस्था अझ खराब बन्दै गएको भन्दै चिन्ता प्रकट गरेको छ । अफगानिस्तानको टोलो न्युजका अनुसार ओआईसीले तालिबानसमक्ष मानव अधिकारका साथै महिला र बालबालिकाको अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ ।

सन् २०२१ को अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा महिला अधिकार हनन् र मानवीय संकट अझ बढ्दै गएको सन्दर्भमा ओआईसीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।