जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) सरोजकुमार यादव नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज (बुधबार) संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
जसपा संसदीय दलको नेता समेत रहेका यादवले प्रदेश प्रमुख मिश्रसमक्ष ६३ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बुधबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहले समेत उनलाई समर्थन गरेको जसपा सांसद रामअशिष यादवले जानकारी दिए ।
सातदलीय सत्ता गठबन्धनमा मधेस प्रदेशमा पहिलो कार्यकाल जसपा र दोस्रो कार्यकाल जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको छ ।
मधेस प्रदेशमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र जसपा तेस्रो ठूलो दल छन् ।