प्रदेश १ को उपसभामुखमा एमालेकी दनुवार



विराटनगर । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन् । शनिबार प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो । उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको थियो भने मतदानमा ९० जना सांसद सहभागी थिए ।

दनुवारको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन् ।


सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ । तैपनि सभामुख तटस्थ बसे भने एमालेका दुई सांसद अनुपस्थित थिए ।