पोखरा विमान दुर्घटना : क्याप्टेन ‘क्लियरेन्स’को प्रमाणपत्र पाउने उडानमै दुर्घटनामा परिन् अञ्जु



काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएकी अञ्जु खतिवडा विराटनगर महानगरपालिका–५ चाँदनी चोक निवासी रहेको खुलेको छ । आइतबार बिहान १०ः३३ बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

चालक दलका चार सदस्यमध्येकी एक थिइन्, खतिवडा । दुर्घटना भएको विमानमा परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र खतिवडा मिलेर उडाएका थिए । ६८ जना यात्रु बोकेर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज अवतरण हुनै लाग्दा दुर्घटना भएको थियो । अञ्जुका एक आफन्तले दिएको जानकारीअनुसार उनले १६ वर्षअघि विमान दुर्घटनामै श्रीमान् गुमाएकी थिइन् । दुःखद् संयोग के छ भने, अञ्जुका श्रीमान् दीपक पोखरेलले को–पाइलटकै रूपमा अनि यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका थिए ।


२०६३ साल असार ७ गते नेपालगन्जबाट सुर्खेत हुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएइक्यू–सी विमान उडेको २६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो । त्यो दुर्घटनामा ६ यात्रुसहित पाइलट किरण मल्ल, को–पाइलट पोखरेल र क्याबिन क्रु दीपक शेरचनको मृत्यु भएको थियो । को–पाइलट श्रीमान्को मृत्यु भएपछि अञ्जुले पाइलट तालिम लिएकी थिइन् ।

भारतबाट दश जोड दुई गरेकी अञ्जु श्रीमान्को मृत्युको करिब चार वर्षपछि अमेरिकाबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएकी थिइन् । नेपाल आएपछि यती एयरलाइन्समा नै आबद्ध भएकी अञ्जु एक वर्ष पहिलेमात्रै पाइलट बनेकी थिइन् । अञ्जु र दीपकको २२ वर्षकी छोरी छिन्। पाइलट भइसकेपछि काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन् ।

केसीपट्टिबाट सात वर्षीय छोरा रहेका ती आफन्तले बताएका छन् । झन्डै १०० घन्टा जहाज उडाएकी अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढीलगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन् । केसीले अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। उनले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने उडान दुर्घटनामा परेको हो ।