पुटिनको युद्धविराम घोषणालाई युक्रेनद्वारा अस्वीकार



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेको ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ ।

युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।


मस्कोको समय अनुसार शुक्रबार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ जुन समय रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्ने छ । रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपील अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताएका छन् ।

युक्रेनलाई पनि सोही अनुरूप कदम चाल्न पुटिनले आग्रह गरे पनि किएभले अस्वीकार गरेको छ। रुसी अर्थोडक्स गिर्जाघरले जनवरी ७ तारिखमा क्रिसमस मनाउने गरेको छ।

सङ्घर्ष चलिरहेका क्षेत्रमा ठूलो सङ्ख्यामा बस्दै आएका धर्मावलम्बीहरूले शुक्रबार क्रिसमसको पूर्वसन्ध्या र शनिबार क्रिसमस मनाउन सकून् भनेर पुटिनले युक्रेनलाई पनि युद्धविरा गर्न आग्रह गरेका हुन्।

तर रात्रिकालीन भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाएका छन् ।

राष्ट्रपति जेलेन्स्कीका युद्धविराम प्रस्तावहरूलाई मस्कोले निरन्तर बेवास्ता गर्दै आएको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन्।