त्रिशुलीमा पुल नबन्दा नदी पारि सहर, वारि गाउँ



काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१२ बाट वडा नं ४ जिल्ला सदरमुकाम जोड्न त्रिशूली नदीमा पक्की पुलको निर्माण तीव्र बनाइएको छ । 

जिल्ला सदरमुकामसँग जोडिएको भए पनि हालसम्म झोलुङ्गे पुलबाट वारपार हुँदै आएको विदुर–१२ को गाउँलाई सदरमुकामको बजारसँग जोड्न निर्माण थालिएको पक्की पुलको काम लक्ष्यभन्दा तीव्र बनाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, पुल योजना मध्यक्षेत्र सेक्टर नं २ ललितपुरमार्फत निर्माण भइरहेको पक्की पुलको लक्ष्यभन्दा आधा समयअगावै सम्पन्न गर्ने गरेर निर्माणको काम भइरहेको निर्माण व्यवसायी जयविष्णु निर्माण सेवाका सञ्चालक अनिलकुमार सिलवालले जानकारी दिए। 


उनको अनुसार तीन पिल्लरसहित दुई स्पानमा निर्माण गरिने पुलको हालसम्म दुई पिल्लरसहित एक स्पानको काम सम्पन्न भइसकेको छ । बाँकी एक स्पान र एक पिल्लरको काम अघि बढाउन सुरु भइसकेको छ।

नौ करोड ५६ लाख लागतमा गत वैशाखदेखि काम सुरु भएको पुलको नौ महिनाको अवधिमा ६० प्रतिशत पूरा भएको छ । अर्को वर्ष विसं २०८० माघसम्ममा निर्माण सक्नुपर्ने भए पनि आगामी बर्खाअगावै सम्पन्न गर्ने लक्ष्यको साथ काम तीव्र बनाइएको हो । ‘पुल निर्माणमा ६० भन्दा बढी प्राविधिकसहितको जनशक्ति खटाइएको छ, आवश्यकताअनुसार निर्माण सामग्री र उपकरण व्यवस्थापनले पुलको निर्माणलाई निर्धारित लक्ष्यभन्दा आधा समय अगाडि सक्नेछौँ,’  ।’ निर्माण व्यवसायी सिलवालले भने । 

दायाँबायाँ पैदलयात्रु हिँड्नसमेत पुग्ने गरेर ११ मिटर चौडाइ र एकसय मिटर लम्बाइको पक्की पुल निर्माणले यहाँका बासिन्दालाई जिल्ला सदरमुकाम, बजार, अस्पताल, उच्च शिक्षा अध्ययनलगायतमा जोडिन प्रत्यक्ष लाभ पुग्नेछ । 

विदुर–१२ गौरीवेशीबाट विदुर–४ सिमचउर जोड्ने पुल बनेपछि साविक चारघरे गाविस हाल विदुर नगरपालिका वडा नं १२ को बासिन्दालाई जिल्ला सदरमुकामसँग यातायातको दूरी सहज, बाह्रै महिना चल्ने र निकै छोटो हुने स्थानीय शिक्षक नवराज ढुङ्गानाले बताए ।

अहिले यहाँका बासिन्दा अन्यत्र आउजाउको लागि त्रिशूली नदी पार गर्न विदुर–६ अथवा विदुर–८ हुँदै जानुपर्ने बाध्यता छ । गाउँमा उत्पादित कृषिउपज, दूधजन्य पदार्थ, कक्षा ११ अध्ययन र त्रिशूली अस्पतालसहित बजारमा पुग्न अहिले अर्को वडा भएर घुमेर जानुपर्नेमा अब यसले ल्याउने परिवर्तन ठूलो छलाङ हुने उनको भनाइ छ । 

‘वडामा हालसम्म कक्षा ११ अध्यापन गराउने एउटै विद्यालय छैन । सँगै जोडिएका वडा (त्रिशूली नादी पारी) पुग्दा सदरमुकामको बजार पुगिन्छ । अहिलेसम्म पक्की पुलविहीन भएको चारघरे (विदुर–१२) लाई गोरीबेँसी–सिमचउर पुल निर्माणले विकासको परिवर्तनमा लागि कोसेढुङ्गाना बन्दछ, शिक्षक ढुङ्गानाले भने।