चीनबाट आउने यात्रीको यात्रामाथि नियन्त्रण गर्न विपद् नियन्त्रणसम्बन्धी युरोपेली सङ्घका अधिकारीहरूले सिफारिस गरेका छन् ।
चीनबाट प्रस्थान गर्नुअघि कोभिड परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा मास्क लगाउनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा समेटिएको छ ।
हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूको सुझाव छ । यो अभ्यास जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले हालै शुरू गरिसकेको छ ।
युरोपेली सङ्घका बहुमत सदस्य राष्ट्रहरू यात्रामा प्रतिबन्ध लगाउने पक्षमा रहेको कुरा युरोपेली आयोगले बताएको भोलिपल्ट पछिल्लो सिफारिस आएको छ । कोभिड शून्य नीति हटाउने योजनाअन्तर्गत आइतवारदेखि चीनबाट र चीनमा गरिने यात्रा सहज पारिएको छ ।
चीनले अहिले व्यापक स्तरमा कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको छ । बिरामीको चापले अस्पतालहरूमाथि र शवहरूको चापले शवगृहमाथि दबाव परेका विवरण आएका छन् ।
युरोपेली सङ्घमा आबद्ध फ्रान्स, स्पेन र इटलीले यसअघि नै चीनबाट आउने यात्रुहरूको हकमा कोभिड परीक्षणको नियम लागु गरिसकेका छन् ।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चीनमा कोभिडको नयाँ भेरिृयन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ। यद्यपि चिनियाँ अधिकारीहरूले कोभिडको असरलाई कम आँकिरहेको हुनसक्ने भन्दै उसले सचेत गराएको छ ।
बेइजिङले गत डिसेम्बरयता कोभिडबाट जम्मा २२ जनाको ज्यान गएको पुष्टि गरेको छ जुन विवरण विश्लेषकहरूको तथ्याङ्कसँग मेल खाँदैन ।
वैज्ञानिक तथ्याङ्कसम्बन्धी बेलायतको एअरफिनिटी कम्पनीको आँकलन अनुसार चीनमा दैनिक २० लाखभन्दा बढी सङ्क्रमण र १४ हजार ७०० को मृत्यु भइरहेको हुन सक्छ ।