अमेरिकी राष्ट्रपति जो बाइडनको निवासमा गोप्य सरकारी दस्ताबेजहरू फेला परेपछि महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले त्यसबारे छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गरेका छन् ।
पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा न्याय मन्त्रालयमा काम गरेका रोबर्ट हुरको नेतृत्वमा अनुसन्धान अनुसन्धान हुनेछ । बाइडनको निवास र यसअघि उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्ताबेजहरू भेटिएका थिए ।
राष्ट्रपति कार्यालयले बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने जनाएको छ । गोप्य दस्ताबेज राम्ररी नसम्हालेको आरोपमा पूर्वराष्ट्रपति ट्रम्पमाथि छानबिन चलिरहेका बेला बाइडनको निवास र कार्यालयमा संवेदनशील कागतपत्रहरू फेला परेपछि उनी राजनीतिक रूपमा अप्ठ्यारोमा पर्ने ठानिएको छ ।
यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा बाइडनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडन सेन्टर’मा फेला परेका थिए । बाइडनले राष्ट्रिय अभिलेखालयलाई ती दस्ताबेज हस्तान्तरण गरिएको बताएका छन् ।
दोस्रो चरणमा यस्ता फाइलहरू डेलावेअरको विल्मिङ्टनस्थित बाइडनको निवासमा डिसेम्बर २० मा भेटिएका थिए। बिहीवार पनि उनको निवासमा थप कागजपत्र फेला परेको जानकारी अनुसन्धानकर्ताहरूलाई उनका वकिलहरूले दिएका थिए ।
असाधारण परिस्थितिलाई ध्यानमा राख्दै छानबिन गर्न विशेष अनुसन्धानकर्ता आवश्यक भएको गार्ल्यान्डले बताए।